पुस्कर ओझा धनगढीको परिचित नाम हो । पुख्र्यौली घर डोटीको कालिकास्थानको वाहुन काँडा । तर उनी धनगढीमै जन्मिएका । आमा दुर्गादेवीको कोखबाट त्यो वेलाको सेती अञ्चल अस्पतालमा जेठो सन्तानको रुपमा जन्मिएका हुन उनी । बुबा प्रयागराज ओझा सरकारी जागीरे । जिल्ला प्रशासन कार्यालयका अधिकृत ।
बाल्यकालको पढाई धनगढीको शारदा माविमा । बीचको पढाई महेन्द्रनगर । कारण बुबाको सरुवा जता भयो उतै जानु परेका कारण । फेरि धनगढी आएर पञ्चोदय मावि हुदैं शारदा माविबाट एसएलसी दिए । त्यसपछिको उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट पुरा गरे । उच्च शिक्षा पढ्न थालेकै वेलादेखि उनले जागीर थालेका थिए । पढाई प्रभावित हुन थालेपछि बीचमा उनले काम गर्न पनि छोडे । तर पछि पढाई बाहेकको समयमा काम गर्ने समय पाएपछि फेरि जागीर गरे ।
घर परिवार उनलाई पनि सरकारी जागीर खानलाई भनिरहन्थे । लोकसेवाको तयारीका लागि बुबाले सधैं भनिरहने । तर उनलाई सरकारी जागीर खाने रहर थिएन् । तर उनलाई फोर्सको जागीर मन पर्ने । नेपाल आर्मीमा सेकेन्ड लेफ्टिनेन्टको लागि आवेदन भरे ।
२१ बर्ष मुनिको उमेर मागिएको थियो । फर्म भर्दा उनको उमेर २१ बर्ष मुनि नै थियो । तर परिक्षा ढिलो हुँदा उनको उमेर चार महिना एघार दिन बढी भईसकेको थियो । जस कारण उनले आफ्नो सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपनालाई साकार बनाउन सकेनन् । र उनि हिरो बन्न समेत भारत पुगे तर पछि फर्किएर यहाँको निजि क्षेत्रमा जागिर गर्न थाले ।
अहिले ब्यवसायी मात्रै नभएर उनि समाजसेवीका नामलेपनि चिनिन्छन् । ३ बर्षअघी कैलाली उधोग बाणिज्य संघको उपाध्यक्ष पदमा निर्वाचित भएका ओझा अहिले ब्यवसायीक हक हित संगै सामाजिक क्षेत्रमापनि उत्तिकै सक्रिय छन् । आफ्नो ब्यवसायीक प्रगती त गरेकै छन् झन यहाँको बिकास र सम्बृद्धीमा उनको खबरदारी र पैरवी निरन्तरनै छ ।
ओझाले व्यवसाय थालेको सात बर्ष मात्रै भएको छ । सुदुरपश्चिमकै प्रतिस्ठित ब्यवसायिक क्षेत्र मानिने दिनेश गु्रपमा महाप्रबन्धकको रुपमा काम गर्दै व्यवसाय र व्यवस्थापन सम्बन्धी धेरै पाठहरु सिके । ती पाठहरुले नै उनलाई अहिले व्यवसायिक सफलता दिलाउन मदत्त मिलेको छ । मार्केटिङ अस्टिटेन्टको रुपमा दिनेश ग्रुपमा काम थालेका उनले चार बर्षपछि महाप्रबन्धक भएर पुरै ग्रुपको जिम्मेवारी पाए ।
२०७० सालमा दिनेश ग्रुपबाट विदा हुदैं आफ्नै व्यवसाय सुरु गरे । त्यसपछि उनले पछाडी फर्किएर हेर्नु परेको छैन् । जुन व्यवसायमा हात हाले त्यतै सफल भईरहेका छन् । अटोमोवाईल व्यवसायमा अपत्यारिलो प्रगति गरिरहेका छन् । २० बर्षको उमेरमा जागीर सुरु गरेका उनले जागीर गर्दा नौ लाख रुपैयाँ कमाईबाट बचाएका थिए । केही पुख्र्यौली सम्पति पनि भएका कारण त्यसलाई धितो राखेर आफ्नै व्यवसायको सुरुवात गरे ।
सुजुकी मोटरसाईकलको अधिकृत बिक्रेताका रुपमा प्राप्ति अटो ईन्टरप्राईजेजबाट व्यवसाय थाले । सुजुकी मोटरसाईकल बिक्रीको हिसाबले सुदुरपश्चिममा खासै राम्रो थिएन् तर उनले डिलर लिएकै बर्षको देशभरीमै सवैभन्दा बढी मोटरसाईकल बेचे । वेष्ट डिलर अवार्ड पनि पाए ।
चार बर्षसम्म सुजुकी मोटरसाईकलको व्यवसाय सञ्चालन गरे । त्यस अवधिमा पनि राम्रै कारोवार गर्न सफल भए । अहिले भने उनले सुजुकी मोटरसाईकलको डिलर छोडिसकेका छन् । व्यवसाय गर्न थालेको एक बर्षमा उनले देखाएको लोभलाग्दो उलब्धीले सबैभन्दा बढी रुचाईएको हिरो मोटरसाईकलको डिलर पाए धनगढीका लागि । डिलरका लागि सहभागी भएका अनुभवी र बर्षौदेखि व्यवसायिक क्षेत्रमा जमिरहेकाहरुलाई पनि मात दिए उनले ।
हिरो मोटरसाईकलको डिलरको रुपमा विशेष अटोमोवाईल्स सञ्चालन गर्दै आएका छन् । हिरो मोटरसाईकलको डिलर लिएको पहिलो बर्ष टप १० डिलरभित्र परे । दोस्रो बर्ष टप फाईब र तेस्रो बर्ष टप वान अर्थात सवैभन्दा वढी मोटरसाईकल बिक्री गर्ने डिलरमा नम्बर वान भए । त्यसपछिका बर्षदखि उनी आजका दिनसम्म उत्कृष्ट र सर्वाधिक मोटरसाईकल विक्री गर्ने डिलरको रुपमा रहीरहेका छन् ।
मोटरसाईकलसँगै अटोमोवाईल्स क्षेत्रमा उनका अन्य व्यवसाय पनि थपिएका छन् । बिशेष मोटोकर्प रेनल्ट युरोपियन गाडीको अधिकृत विक्रेता हो । प्राप्ती अटो ईन्टरप्राईजेले सुजुकी मोटरसाईकल छोडेपछि सुजुकी गाडीको विक्री वितरण गर्दै आएको छ । त्यसलाई उनका भाईले हेरिरहेका छन् ।
हिरो मोटरसाइकल धनगढीको आधिकारिक बिक्रेता रहेका ओझा विजनेशम्यान बनेपछि पनि उनी सेलिब्रेटी बनेका छन् । फ्यान पनि छन् । उमेरले चार दशक भएपनि अहिले पनि हिरोभन्दा कम छैनन् उनी । टिपटप गेटअप, फिट हेल्थ, हाईटमा पनि एकदम ठीक, जिउडालमा पनि निकै फिट । कुनै हिरोको भन्दा कुनै कुराको कमि छैन उनमा । नियमित व्यायाम र कसरत तथा सकारात्कम सोचले मानिसलाई सही बाटोमा हिडाउने मन्त्र बोकेर हिडिरहेका छन उनी ।
व्यवसायसँगै सामाजिक कामहरुमा पनि उत्तिक्कै सक्रिय छन पुष्कर । कैलाली उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष रहेका उनी व्यवसायिक हकहितका लागिरहेका छन् । व्यवसायीका पीर मर्का बुझ्नलाई पुगिहाल्छन । सक्दो पहल गर्छन् । समस्या पनि समाधान गराउन लाग्छन् । नेपाली युवा उद्यमी मंञ्च कैलालीका संस्थापक अध्यक्ष पनि हुन उनी ।
रोटरी क्लबका पुर्व अध्यक्ष भएर पनि सामाजिक कामहरु गरेका छन उनले । उनी रोटरी क्लबको अध्यक्ष रहेका वेला हावाहुरी पिडतका लागि ४४ घर निर्माण गरिएका थिए । पहाडी जिल्लामा हेल्थ क्याम्प, खानेपानी योजना पनि सम्पन्न भएको थियो । ह्युमानिटी फाउण्डेसनका संस्थापक उपाध्यक्ष समेत रहेका छन् ।
डडेल्धुरामा पिसिआर मेसिनका लागि जनस्तरबाट चलाइएको अभियानमा पनि सक्रियताका साथ लागेका थिए । भारतबाट घर फर्किएका नेपालीहरुलाई सीमामा खाना खुवाउने अभियानमा पनि उत्तिक्कै लागेका थिए । अभियान सुरु हुनु अघिको रातमा उनले व्यक्तीगत रुपमा नै खाना खुवाएका थिए । खेलकुद पनि उनलाई मन पर्छ ।
धनगढी प्रिमियर लिगको दुई पटकको च्याम्पीयन टीम टीम चौराहका मालिक मध्येका एक हुन् उनी । नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको पहिलो सुदुरपश्चिम स्पोर्टस अवार्डमा पनि प्रायोजन गरेर साथ दिएका थिए उनले । स्कुल अफ डेमोक्रेसीका कैलाली अध्यक्ष समेत रहेका छन उनी ।
व्यवसायमा चम्किरहेका पुष्करसँग पढ्ने धेरै साथीहरु विदेश गएका छन् । उनी भने आफ्नै ठाउँमा सम्भावना खोज्दै व्यवसायमा जमिरहेका छन् । अन्य क्षेत्रका व्यवसायमा पनि सम्भावना खोज्ने योजना रहेको छ उनको । युवा उद्यमीहरुलाई प्रोत्सहान सहित व्यवसायमा लगाउन सकेमा सुदुरपश्चिमको समृद्धि हुने आशा उनले राखेका छन् ।
यस पटक ओझा कैलाली उधोग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा भिडिरहेका छन् । उनि सामाजिक क्षेत्र संगै उधोग बाणिज्य संघमा रहेर ब्यवसायीक हक हितका लागी काम गर्न चाहान्छन् । फुर्तिला, एवं समाजसेवी युवा ब्यवसायी ओझा यस पटकको निर्वाचनमा थप माया पाउने बिश्वास राख्छन् ।