बैतडी। जिल्ला समन्वय समिति बैतडीको नेतृत्वकालागि नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छ । प्रमुख सहित ९ सदस्यीय पदका लागि एमालेबाट ८ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख पदका लागि एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ भने उपप्रमुखमा हेमा भट्ट (कपाडी)को उम्मेदवारी दर्ता भएको छ । यस्तै खुला तीन सदस्यमा एमालेबाट ईश्वर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको उम्मेदवारी दर्ता भएको छ। महिला सदस्यमा चन्द्र जोशी (पाण्डेय) र यशोदा महराको उम्मेदवारी दर्ता भएको छ। यस्तै दलित सदस्यमा द्रोपती दयालको मनोनयन दर्ता भएको छ ।
जिल्ला समन्वय समितिका लागि एमालेसंग ८ जना मतदाता रहेका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराईसकेका छन् । कांग्रेसले प्रमुखका लागि पार्टीका जिल्ला उपसभापति समेत रहेका खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ। यस्तै, उपप्रमुख माओवादी केन्द्रबाट दमन कुँवर (आदर्श) लाई उम्मेदवार बनाइएको छ।
बैतडीमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनको बहुमत देखिएको छ। यस्तै खुला सदस्यका लागि नेपाली कांग्रेसबाट करनसिंह कठायत र दानबहादुर बिष्टको मनोनयन दर्ता भएको छ भने नेकपा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको मनोनयन दर्ता भएको छ। यस्तै तीन महिला सदस्यका लागि नेपाली कांग्रेसबाट यशोदा चन्द, नेकपा माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना सार्कीको मनोनयन दर्ता भएको छ । यस्तै दलित सदस्यमा नेपाली कांग्रेसका हरु नेपालीको मनोनयन दर्ता भएको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । ९ सदस्यीय जिल्ला समन्वय समितिका लागि गठबन्धनसंग १२ मतभार छ भने एमालेसंग ८ मतभार रहेको छ । नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र स्वतन्त्र १ गरेर गठबन्धनसंग १२ मतभार रहेको हो । बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ ।