डोटी। डोटीको जोरायल गाउँपालिकाले सरकारको निर्णय नमान्ने भएको छ। डोटी जिल्लाको जोरायल गाउँपालिकाले नेपाल सरकारको शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयलाई नमान्ने भएको हो।
गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार पनि शिक्षा शाखा अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा पठनपाठन अवरोध नगर्ने जानकारी गराएको छ। सूचना अनुसार पालिकाको शुक्रबार बसेको बैठकले विद्यार्थीहरूको पठनपाठनलाई मध्यनजर राख्दै गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूलाई आइतबार सार्वजनिक बिदा नदिने तथा आइतबार समेत विद्यालय सञ्चालन गरी पठनपाठन कार्य सुचारु गर्ने जनाइएको छ।