बझाङ। बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खुला गर्न नसक्दा राजश्व चुहावट हुँदै आएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट हुँदै आएको हो।
बझाङ चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको ताक्लाकोट नाका साइपाल गाउँपालिकासँग जोडिएको छ । बर्सेनि ३ करोडभन्दा धेरैको यार्सागुम्बालगायत अन्य बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको भए पनि सरकारको कुनै पनि निकाय नभएका कारण राजश्व चुहावट भइरहेको साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। पालिकामा निर्वाचित भएपछि आफूले नाका खोल्न पटकपटक प्रदेश र सङ्घ सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
बझाङबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँच औँलेलगायत जडीबुटी निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य वस्तु चौँरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको साइपाल गाउँपालिका वडा नम्बर २ का स्थानीय तिलकबहादुर विकले बताए । उताबाट नुन, कपडा, जुत्तालगायतका वस्तु आयात हुने गरेको छ ।