कैलाली। गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि बढ्न थालेको छ । सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पताल धनगढीस्थीत सेती प्रादेशिक अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो।
गर्मी बढेसँगै सेती प्रादेशिक अस्पतालमा बिरामीको निकै चाप बढेको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने गर्मी मौसममा दोब्बर बिरामीहरु अस्पतालमा भर्ना भैरहेका छन् । बिगत अन्य समयमा २ सय २५ को हाराहारीमा बिरामी आउने गरेकोमा अहिले दैनिक ४ सय २५ जना आइरहेका छन् उनले भने । गर्मी समयमा बयस्क युवाहरुमा स्वासप्रश्वास तथा ज्वरो आउने समस्या लिएर आइहेको उनले बताएका छन् । यस्तै उता महाकाली प्रादेशिक अस्पतालमा पनी बिरामीको चाप पनी निकै बढेको छ ।
महाकाली प्रादेशिक अस्पतालमा अहिले दैनिक ३०/३५ जना ज्वरो र पखालाका बिरामी आउने गरेका छन्। केही दिनयता झाडापखाला र ज्वरोलगायतका बिरामीको चाप बढ्न थालेको हो । अहिले अस्पतालको ओपिडिमा दैनिक ३/४ सय र इमर्जेन्सीमा एक सयको हाराहारीमा बिरामीहरू आउने गरेका छन् । ‘गर्मी बढेपछि बिरामीको चाप पनि बढेको छ,’ महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.अर्जुन भट्टले भने, ‘पखाला, ज्वरो र स्क्रबटाइफसका बिरामीहरू भर्ना हुन थालेका छन् । उनका अनुसार दैनिक तीन/चार जना पखालाका बिरामी भर्ना भइरहेका छन् । इमर्जेन्सी कक्षमा पनि पखाला र ज्वरोकै बिरामी बढी। खानपिनकै कारण पखालाका बिरामीहरू बढी भर्ना भएका छन्,’ डा. भट्टले भने, ‘गर्मीबाट पनि जोगिनुपर्छ, खानेकुरा पनि त्यस्तै खानुपर्छ ।’
गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउँछन्।गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन्। टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउँछन्। ‘दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ’, उनले भने। लापरवाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उनको भनाइ छ। गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा खरेल बताउँछन्। ‘यो समयमा अस्पतालमा बिरामी बढेका छन्। बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन्’, उनले भने।