बैतडी। जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ। यही जेठ २४ गते हुने जिल्ला समन्वय समितिको नेतृत्वका लागि बिहीबार बसेको दुवै दलको बैठकले गठबन्धन गरेर जाने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।
नेपाली कांग्रेसले प्रमुख पद सहित २ जना महिला सदस्य, २ जना खुला सदस्य र एक जना दलित सदस्य लिने सहमति भएको छ भने माओवादी केन्द्रले उपप्रमुख पद सहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ ।जिल्ला समन्वय समितिको प्रमुखका लागि नेपाली कांग्रेसले जिल्ला उपसभापति खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उपप्रमुख पदमा भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ।
यस्तै नेपाली कांग्रेसबाट समन्वय समितिमा सदस्य पदका उम्मेदवार कसलाई बनाउने भन्ने बिषयमा आज टुंगो लाग्ने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए । जिल्ला समन्वय समितिको निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएसंगै उनीहरुको बहुमत पुग्ने देखिएको छ । यसरी हेर्दा समन्वय समितिमा गठबन्धनकै जित हुने देखिएको छ। समन्वय समितिका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रावधान रही आएको छ।
यसरी हेर्दा नेपाली कांग्रेसका ९ र माओवादीका २ गरेर गठबन्धनसंग ११ मतदाता रहेका छन्। यस्तै नेकपा एमालेसंग ८ र एकजना स्वतन्त्र मतदाता रहेका छन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गरेको छ। भोलि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। यस्तै जेठ २२ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने र जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।