सुदूरपश्चिम। संघीय सरकारले सुदूरपश्चिमका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण तालिम दिने भएको छ। गत ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दिने अभिमूखीकरण दिन लागेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो। मन्त्रालयका सहसचिव डा.गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने छ। उनका अनुसार सुदूरपश्चिम र प्रदेश १ मा २५–२६ जेठमा अभिमूखीकरण दिइने छ भने मधेश, गण्डकी र कर्णालीमा २७–२८ जेठको मिति तय भएको छ। बागमती र लुम्बिनीमा ३०–३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ। कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ।