बझाङ । बझाङमा सञ्चारकर्मी माथि कुटपिट भएको छ । जिल्ला सदरमुकाम चैनपुरस्थित जयपृथ्वी एफएममा कार्यरत कर्ण धामीमाथि गएराति रेडियोको स्टुडियोमै प्रवेश गरी सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिटका साथै ज्यान मार्ने धम्की दिएका छन् ।
बोहराले सञ्चारकर्मी धामीमाथि स्टुडियोमै प्रवेश गरी अपशब्द प्रयोग गर्दै कुटपिट गरेको रेडियोका अध्यक्ष प्रताप ओलीले जानकारी दिए । मदिरा खाएर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रशारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको पीडित धामीले बताए ।‘स्टुडियोमा काम गरिरहेको थिए, अरू सहकर्मी पनि आ–आफ्नो कक्षमा काम गरिरहेका थिए । अचानक सुर्मा गाउँपालिका–४ घर बताउने खडक बोहरा स्टुडियोमै पसे ।
उनले मदिरा पिएका थिए । बोहरा आफन्तको श्रद्धाञ्जली प्रशारणका लागि रेडियोभित्र छिरेका थिए’, उनले मृतकको नाम नै ल्याएका थिएनन्, मृतकको नाम ल्याएर आउनुहोस्, अनि प्रशारण गरौंला भनेर पठाउन खोजेको थिए । यतिकैमा बोहराले गालीगलौज गर्दै कुटपिट गर्न थाले । उनले अपशब्द प्रयोग गर्दै चैनपुरमा बस्न नदिने धम्कीसमेत दिएका छन् ।’बोहराको कुटपिटबाट धामीको हातमा चोट लागेको छ । रेडियोका अध्यक्ष ओलीले सञ्चारकर्मी धामीमाथि कुटपिट गर्ने बोहरालाई कारबाहीको माग गरेका छन् । ‘रेडियोका कर्मचारी धामीलाई कुटपिट, गाली बेइज्जती तथा अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति रेडियो परिवार घोर आपत्ति जनाउँछ । सही सूचना सम्प्रेषणका विषयमा रेडियो गम्भीर भएको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई यथाशीघ्र कानुनी दायरमा ल्याई कानुनबमोजिम कारबाहीमा माग गर्दछौं,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन् ।