काठमाडौं। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो। बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।
शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । उक्त आदेश खारेज गरिपाऊँ भन्दै शाहका तर्फबाट निवेदन परेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए । १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ मा तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । प्रहरीले अदालतबाट गत फागुन १५ मा ७ दिन, फागुन २२ मा १२ दिन र चैत ४ मा ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । किशोरीका बुबाले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि सोही प्रकृतिको जाहेरी दिएका थिए । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।सरकारी अनुसन्धान अधिकृतका अनुसार छिटोमा मुद्दाको प्रक्रिया सकिन दुई महिना जति लाग्छ।’अभियुक्त शाह फैसला भइन्जेल थुनामै बस्नुपर्छ। फैसला के आउँछ, त्यस आधारमा बाहिर निस्किने वा कारागारमा चलान हुने टुंगो लाग्छ,’ मुद्दासँग जोडिएका एक सरकारी वकिलले भने, ‘बकपत्रको काम अन्तिम चरणमा छ। सुनुवाइकै क्रममा छ।’उनका अनुसार मुद्दाको टुंगो अदालती प्रक्रियामा भर पर्छ। सरासगर गए एक-दुई महिनामै सकिने उनले बताए।