धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ। सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअन्तर्गत पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ।
बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए । ‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धारा प्रस्तुत हुने भएकाले उक्त समयसम्मका लागि यो अधिवेशन स्थगित भएको सभामा जानकारी गराउँछु’ सभामुख थापाले भने । चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेश गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।