बैतडी। जिल्ला समन्वय समिति बैतडीको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । मतदाताहरुको अन्तिम नामावली भने भोलि प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै जेठ २१ गते उम्मेदवारहरुको मनोनयन दर्ता, जेठ २२ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान र जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने प्रावधान रही आएको छ। यस्तै स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारी उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ।
एकजना प्रमुख, एकजना उपप्रमुख, तीन जना महिला सदस्य, तीन जना खुल्ला सदस्य र एकजना दलित वा अल्पसंख्यक सदस्य गरी ९ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । बैतडीमा जिल्ला समन्वय समितिका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने तयारी गरेका छन् । प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई दिने सहमति भएको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए । जिल्ला समन्वय समितिका लागि नेपाली कांग्रेससंग ९ जना, एमालेसंग ८ जना, माओवादी केन्द्रसंग २ जना र एकजना स्वतन्त्र मतदाता रहेका छन् । यसरी हेर्दा कांग्रेस र माओवादी मिलेमा उनीहरुको बहुमत हुने देखिएको छ ।