काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।
यससँगै निजामति सेवाको प्रमुख पद मुख्य सचिवको तलब मासिक ७७ हजार दुई सय ६ रुपैयाँ र सबैभन्दा तल्लो ओहोदा खरिदारको तलब ३२ हजार आठ सय ९४ रुपैयाँ पुगेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको वैज्ञानिक तलब निर्धारणका लागि अध्ययन गराउने बताएका छन् । साथै बजेटले छिट्टै निजामति कर्मचारी विधेयक संसदमा पेस गर्ने घोषणा गरेको छ ।