काठमाण्डौ। पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।