सुदूरपश्चिम। सुदूरपश्चिमका ८८ मध्ये ८७ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार उप्रप्रमुख/उपाध्यक्ष पदमा पनि वहुसंख्यक पुरुषहरुले नै जितेका छन्।
सुदूरपश्चिमको एक उपमहानगरसहित ३४ नगरपालिका र ५४ गाउँपालिका रहेको सुदूरपश्चिममा २० स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पद पुरुषले नै हात पारेका छन् । ८ नगरपालिका र १२ गाउँपालिकाको उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका छन्। देशैभरका स्थानीय तहमा दलहरुले केवल उपप्रमुख/उपाध्यक्ष पदमा मात्रै महिलाको भाग जस्तो भाष्य देखाउँदै आएका भए पनि यस प्रदेशमा भने महिलाका लागि त्यही पद पनि सबै ठाउँमा सुनिश्चित हुन सकेन ।
उपप्रमुख पुरुष निर्वाचित भएका ८ वटा नगरपालिकाहरुमा कञ्चनपुरको बेलौरीमा एमालेका जोगराम चौधरी, अछामको साँफेबगरमा एकीकृत समाजवादीका शिवबहादुर कुंवर, बझाङको जयपृथ्वीमा माओवादी केन्द्रका रतनबहादुर सिंह रहेका छन् । यस्तै बझाङकै बुंगलमा एकीकृत समाजवादीका धनबहादुर बोहरा, कैलालीको गौरीगंगामा कांग्रेसका भोजबहादुर बम, कैलालीकै टीकापुरमा माओवादी केन्द्रका खडक बहादुर शाह, बैतडीको पाटनमा माओवादी केन्द्रका कमलसिंह बोहरा र बाजुराको बुढीनन्दा नगरपालिकामा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा उपमेयर पदमा निर्वाचित भएका छन्। प्रमुख र उपप्रमुख दुवै पदमा महिला चयन हुने सुदूरपश्चिमको लम्कीचुहा एक मात्र स्थानीय तह हो यस नगरमा प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही र उपप्रमुखमा एमालेकी जुना चौधरी निर्वाचित भएका छन्।
यस्तै, अध्यक्ष उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका १२ गाउँपालिकाहरुमा सबैभन्दा धेरै बझाङका पाँच वटा गाउँपालिका रहेका छन् । खप्तडछानामा माओवादी केन्द्रका विष्णु कुमार थापा, छबिस पाथिभेरामा नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा, थलारामा कांग्रेसका रामबहादुर खाती, दुर्गाथलीमा कांग्रेसका जनकबहादुर दौत्याल, मष्टामा माओवादी केन्द्रका हर्क धामी उपाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै दार्चुलाका तीन गाउँपालिकामा पुरुष उपाध्यक्षमा भए । नौगाडमा कांग्रेसका जगतसिंह ठगुन्ना, ब्यासमा माओवादी केन्द्रका विनोदसिंह कुंवर र मालिकार्जुनमा माओवादी केन्द्रकै कल्यानसिंह धामी उपाध्यक्षमा चुनिए । यस्तै कैलालीको बर्दगोरियामा माओवादी केन्द्रका गणेशराज गिरी र मोहन्यालमा कांग्रेसका कमलबहादुर साउँद उपाध्यक्ष पदमा निर्वाचित भए। अछामको मेल्लेखमा कांग्रेसका नृपबहादुर खड्का र बैतडीको डिलासैनीमा कांग्रेसका भगिरथ बोहरा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।साभार