अछाम। अछामको तुर्माखाँद गाउँपालिका ४ का नवनिर्वाचित वडाध्यक्ष पदबहादुर बिसीले आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने निर्णय गरेका छन् ।
सोमबार पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो बैठकबाट उनले वृक्षारोपण दिवसका अवसरमा आगामी असार १४ गते १०२८ वटा विरुवा रोप्ने निर्णय गरेका हुन्। वृक्षारोपणलाई आगामी पाँच वर्षसम्मै निरन्तरता दिने भनिएको छ । नेकपा माओवादी केन्द्र बाट चुनाव लडेका उनले १०२८ मत पाएका थिए ।
साथै उनले वडावासीका गुनासा, समस्या र सुझाव संकलनका लागि हेलो वडाध्यक्ष कार्यक्रमको पनि घोषणा गरेका छन् । जसअनुसार एउटा मोबाइल नम्बर सार्वजनिक गरेर कुनैपनि बेला वडाका नागरिकले फोन वा मेसेज गरेर आफूले भोगेको समस्या वा सुझाव दिन सक्ने बताइएको छ । उनले वडामा कुनै नागरिकको मृत्यु भएमा उसको परिवारलाई किरिया खर्चस्वरूप पाँचहजार उपलब्ध गराउने पनि निर्णय गरेका छन् । साथै वडामा तत्काल विद्युतीय प्रसारण लाइन विस्तार गरिने बताइएको छ ।