बाजुरा। बाजुराको बुढीगंगामा एक सातादेखि निर्वाचन अधिकृत विहिन हुँदा निर्वाचनको कार्य अन्योलन बनेको छ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनको जिम्मेवारी लिएका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले असुरक्षित भएको सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगरपालिका एक सातादेखि निर्वाचन अधिकृत विहिन बनेको हो।
उक्त नगरपालिकाको वडा नम्बर २,३,५ र ९ मा पार्टीका कार्यकर्ता बीच झडप र चौतर्फी रुपमा दलहरुको दवावपछि असुरक्षित भएकोले निर्वाचनको कार्य अघि बढाउन नसक्ने भन्दै निर्वाचन अधिकृत सापकोटाले राजिनामा दिएका थिए। सापकोटाको राजिनामापछि मतदान भएको भएपनि मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्न नसक्दा निर्वाचनको कार्य अन्योलमा परेको छ।अन्योलमा रहेको बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृत आउन कसैले नमानेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। आयोगले निर्वाचन अधिकृत पठाउन खोज्दा पनि कर्मचारी कसैले पनि आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताएका छन्।
उक्त नगरपालिकाको चार वडामा नेकपा एमालेले धाँधली गरेर सहज रुपमा मतदान गर्न नदिएकाले धाँधली भएका वडामा पुन मतदान गर्नुपर्ने अडानमा काँग्रेसका उम्मेदवारहरुको रहेको छ। वडा नम्बर २,३,५ र ९ वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बुथ कब्जा गरेर स्वतन्त्र रुपमा मतदाताले मत खसाल्न नापएकोले मतदान प्रक्रिया पुनः संचालन गर्न माग काँग्रेसको रहेको छ ।नेपाली काँग्रेसले लगाएको आरोपमा भने नेकपा एमालेले शान्तिपूर्ण वातावरणमा मतदान भएकाले निर्वाचन भएको सबै मत गणना सुरु हुनुपर्नै अडानमा एमाले रहेको छ ।
एमालेका उम्मेवार तथा नेताहरुले नगरपालिकाका कुनै पनि वडामा धाँधली र बुथ कब्जा नभएको शान्तिपूर्ण वातावरणमा मतदान भएकाले मत गणना सुरु हुनुपर्ने अडान राख्दै आएको छ ।
बुढीगंगामा मतदानमा भएको विषयलाई निर्वाचन आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नगरपालिकाका पुरै वडामा पुन मतदान गर्न आयोगलाई पत्र पठाएको छ । पत्रपछि आयोगका आयुक्त सगुन शमशेर जवराको संयोजकत्वमा आयोगको अनुगमन टोली बाजुरा पुगेको थियो । अनुगमनमा टोलीले जिल्लामा राजनितिक दल र उम्मेदवारहरु,मतदान अधिकृत र सुरक्षाकर्मीहरुसंग राय सुझाव संकलन गरेर फर्किएको हो ।
आयोगमा प्रतिवेदन नबुझाइएकाले निर्वाचन हुने वा मत गणना गर्ने विषयमा बुढीगंगामा अन्योलता देखिएको छ ।