कैलाली। कैलालीको जोशीपुर गाउँपालिकामा रेशमलाल चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टी बिजयी भएको छ।
पार्टी दर्ता भएको तीन महिना मै उन्मुक्तिले जित हात पारेको हो। नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ। गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन्।
उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४ हजार ५८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत ल्याए।
नागरिक उन्मुक्तिले वडा नं. १, ३, ४ र ५ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ । वडा नं.१ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं. ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन्। त्यस्तै वडा नं.२ मा भने जसपाका विष्णुप्रसाद डगौरा, वडा नं. ६ मा माओवादी केन्द्रका भोजराज डगौरा र वडा नं.७ मा नेकपा एमालेका बमबहादुर शाह विजयी भएका छन्।
जोशीपुर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो । यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा जितेको थियो । नागरिक उन्मुक्तिले कैलालीका जोशीपुर गाउँपालिकालगायत टीकापुर र भजनी नगरपालिकाका साथै जानकी गाउँपालिका समेत जित्ने निश्चित छ । सबै पालिकामा दोब्बर मतको हाराहारीमा अग्रता लिइरहेको छ ।