कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। शुक्रबार मतदान सम्पन्न भएका जिल्लाका विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको हो।
सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुने भएको छ। प्रदेशका ८८ मध्ये मतगणना सुरु भएका २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको पाइएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/ अध्यक्षमा अग्रता लिएको छ।
यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ। बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ। यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी, कैलालीको गोदावरी र कैलारीमा नेपाली काँग्रेसले अग्रता लिएको छ। माओवादी केन्द्रले कञ्चनपुरको बेलौरी, डडेल्धुराको पशुराम, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको निर्वाचन कार्यालयले जनाएका छन् ।