बझाङ। बझाङ जिल्लामा ६० प्रतिशत मतदान भएको छ । बझाङ जिल्लाभर ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिएका छन्।
अहिले पालिकाको केन्द्रमा केही वडाका मतपेटिका पुगिसकेको भए पनि केही स्थानमा मतपेटिका पुग्ने क्रम जारी रहेको उनले जानकारी दिए । यसैबीच बझाङका ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन अधिकृत गौतमले बताए । बझाङको जयपृथ्वी नगरपालिका-७ को क र ख मतदान केन्द्र, केदारस्यू गाउँपालिका-४ को क र ख र सुर्मा गाउँपालिकाका दुईवटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको हो।
मतदानको क्रममा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएपछि ती स्थानमा मतदान स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । आज मतदान हुन नसकेका स्थानमा एक दुई दिनभित्र नै चुनाव गरिने उनले बताए । कर्मचारी खटनपटन गर्ने काम नभएका कारण केही दिनपछि स्थगित भएको स्थानमा मतदान गरिने बताए ।साथै उनले शान्त वातावरणमा मतदान सम्पन्न भएका स्थानीय तहमा भने आज राति ९ बजेपछि मतगणनाको काम थालिने छ । जिल्लाको जयपृथ्वी नगरपालिका, केदारस्यूँ र सुर्मा गाउँपालिकामा भने मतदान सम्पन्न नहुँदासम्म मतगणना हुने छैन ।