बैतडी। बैतडीमा पार्टीको प्रचारमा गएको भन्दै एक महिलामाथि उनकै श्रीमानले निर्घात कुटपीट गरेका छन् । दशरथचन्द नगरपालिका– ८ की २९ वर्षीया धना महरलाई ३० वर्षीय उनका श्रीमान जय महरले निर्घात कुटपीट गरेका हुन् ।
नेकपा एमालेबाट वडा नं.८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँले सासु (आमा)नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै जय महरले आफ्नै श्रीमतिलाई कुटेका हुन् । श्रीमानको कुटाईबाट घाइते भएकी धानालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ ।
आफ्ना छोरी सहित उनी अहिले जिल्ला अस्पतालको बेडमा भर्ना भएकी छिन् । श्रीमानको कुटाईबाट उनको टाउको र शरीरका अन्य भागमा समेत चोट रहेको बताइएको छ । म्यादी प्रहरी समेत रहेका श्रीमानको कुटाईबाट शरीरभरी घाउचोट रहेको धानाले बताइन् । उनले भनिन् ‘श्रीमानले मदिरा सेवन गरेर कुटपीट गरे, भित्रै पस्न दिनुभएन् । पछि छिमेकीको सहयोगमा घर भित्र पसे र भोकै सुते ।’
शुक्रबार राती आफ्नै श्रीमतिमाथि कुटपीट गरेका जयले शनिबार बिहान समेत कुटपीट गरेको र पछि गाउँलेको सहयोगमा अस्पताल पुगेकी धानाले बताइन् । उजुरी दिन प्रहरीमा गएको भएपनि उपचार पछि आउनु भनेको उनले बताइन् । यसअघि पनि तीन चोटी कुटपिट गर्दा प्रहरीमा निवेदन दिएको र प्रहरीले सम्झाइ बुझाई गरेर घर पठाएको घाइतेले बताइन्। उनले फेरि आफू घर फर्किए कुटेर मार्ने भन्दै श्रीमानमाथि कारवाहीको माग गरेकी छन्। उनका दुई छोरीसमेत रहेका छन्। घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले आफूलाई थाहा नभएको बताए ।