बाजुरा। बाजुराबाट भारतको नयाँ दिल्ली गई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरिएको छ ।
जिल्ला अदालत बाजुराले सोमबार देवेन्द्रलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । प्रहरीका अनुसार रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएका मंगल सिंह भन्ने मंगले लुहारको हत्याको आरोपमा देवेन्द्र बूढालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्लाको बुढीगंगा नगरपालिका–७ स्थायी घर भएका देवेन्द्रले सोही स्थानका मंगलेको हत्याको योजना बनाई गत फागुनमा भारत गएका थिए । उनले नयाँ दिल्लीमा सुतिरहेको समयमा मंगलेको टाउकोमा काठको मुङ्ग्राले ६ पटक प्रहार गरी हत्या गरेका थिए । घटनाको करिब एक महिनापछि मृतकका छोराले दिएको जाहेरीको आधारमा भारतीय प्रहरीको समन्वयमा देवेन्द्रलाई पक्राउ गरिएको थियो ।
घटनास्थल मुलुक बाहिर भएको कारण थप अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालय, धनगढी र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्सालको समन्वयमा पारस्परिक कानुनी सहायता ऐन अनुसार भारतीय प्रहरीबाट घटनासँग सम्बन्धित सबुत प्रमाण र अनुसन्धानात्मक कागजात संकलन गरिएको थियो ।प्रहरीका अनुसार सीसीटीभी फुटेज र अन्य प्रमाणले उनले हत्या गरेको पुष्टि गरेको छ भने आरोपीले पनि रिसिइबी साँध्न हत्या गरेको स्वीकार गरेका छन् ।