धनगढी। जनता समाजवादी पार्टि नेपालले धनगढी उपमहानगरपालीकाको मेयर र उपमेयर पदको उम्मेदवारी घोषणा गरेको छ। शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले यही बैशाख ३० गते हुन गइरहेको स्थानिय चुनावकालागी मेयर र उपमेयरको घोषणा गरेको हो।
मेयरमा धनगढी उपमहानगरपालिका-३ का कविन्द्र ऐरले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै उपमेयरमा धनगढी उपमहानगरपालिका-८ की नन्दकली राना थारुले उम्मेदवारी घोषणा गरेका हुन्। साथै अन्य पदाधिकारी तथा सदस्यहरुको उम्मेदवारी सम्बन्धमा भोली (आइतबार) छलफल गरी निर्णय गरीने जनाइएको छ। मेयरका प्रत्यासी कविन्द्र ऐर व्यवसायी हुन् । मेयर पदमा घोषणा गरेका ऐरले आफुले जितेमा ५ बर्षअवधीमा बिभिन्न योजनाहरुका साथ अघि बढ्ने बताएका छन्। शिक्षा स्वास्थ्य पर्यटन क्षेत्र र युवाका समस्या लगायत बिभिन्न बिषयमा आफुलाई राम्रो ज्ञान भएको बताउँदै आफुले मेयर पदमा उमेदवारी दिएको बताए।
मेयरपदमा जितेमा आफुले शिक्षा क्षेत्रमा बिभिन्न सरकारी स्कुलहरु ब्यवस्थापन गरी राम्रो बनाउने, बोडिङ स्कुलमा देखीएका शुल्क लगायत बिभिन्न समस्याहरु समाधान गर्ने र शिक्षकहरुका समस्या समाधान गरिने बताए । स्वास्थ्य क्षेत्रमा एम्बुलेन्सको समस्याहरु रहेका बिभिन्न वडाहरुमा एम्बुलेन्स राख्ने र हटलाईन सेवा तथा इमरजेन्सी सेवाहरु प्रदान गर्ने, डक्टरहरुको ब्यवस्थापन गर्ने, नगर क्षेत्रमा ब्यापार ब्यवसाय प्रर्वधन गर्न २४ घण्टा बजार सञ्चालन गर्ने योजना रहेको बताए । खानेपानीको समस्यालाई मध्यनजर राख्दै धनगढी उपमहानगरपालीका क्षेत्रमा निशुल्क सेवा दिने बताए ।
युवाहरुको समस्यालाई मध्यनजर राख्दै लागुऔषधमा फसेकाले यसलाई नियन्त्रण गर्ने बताए । रानाथारु समुदायलाई प्रोत्साहित गर्न पहिचान संस्कृतीलाई बिस्तार गर्न होमस्टे निर्माण गर्ने र भलभन्सालाई कानुनी मान्यता दिने उनको भनाई छ। उनले भने अरु उमेदवार ले जती गर्न सक्छन् म त्यती नै गर्न सक्छु र जती बोल्छु त्यती नै गर्ने हो। यसै क्षेत्रको स्थानिय नै भएकोले यहाँको समस्या राम्रोसँग चिनेकाले काम गर्न सक्ने उनले बताए । जसपा पार्टीका केन्द्रिय सदस्य आर सि यादवले जसपा पार्टिले सत्ताघटक बिचको गठबन्धन चैत २६ गते नै तोडीसकेको हुनाले गठबन्धसँग सहकार्य नभएको बताएका छन् । उनले केन्द्रिय निर्देशन नमान्ने बताउँदै सुदुरपश्चिम प्रदेशमा स्वतन्त्र स्वायत्त रहेको र आफ्नो हिसाबमा अगाडी बढिरहेको बताए । यस्तै सुदुरपश्चिम प्रदेशका साँसद तथा जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य मालामती रानाले जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल नगरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने बताईन् । उनीहरु दुबैको जित सुनिश्चीत हुने बताउँदै शुभकामना ब्यक्त गरिन् ।