धनगढी। नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ।
सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको छ । त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । वडले भने, ‘सम्भवः कार्यसम्पादन समितिको बैठकले (आज) टुङ्गो लगाउँछ होला ।’कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए ।
फेरि टिकट पाउने निश्चित भएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले काठमाडौंमा रहेको उनी शनिबार आज बिहानै धनगढी फर्किएर राजीनामा दिने बताइएको छ । मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ। नगर समितिले धनगढीको मेयरका लागि वड र महरासहित ७ जनाको नाम सिफारिस भएको थियो । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन । २०७४ सालको निर्वाचनमा उपमेयरमा पराजीत भएकी शान्ति अधिकारीले टिकट पाउने सम्भावना बलियो रहेको माओवादीका नेताहरु बताउँछन् ।