कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउन लाग्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी ध्रुवीकरण एकतामा जोडिन सबैलाई अपिल गरे।
वैद्य, विप्लव र बाबुराममा भएका नेता कार्यकर्ता माओवादी ध्रुवीकरण र एकतामा जोडिन प्रचण्डले आग्रह गरे। ‘विप्लव वैद्य बाबुरामसँग रहनु भएका कमरेडहरु अबिलम्ब ध्रुवीकरणमा आउँन आग्रह गर्दछु। तपाईहरुलाई भेदभाव गरिने छैन। माओवादी बलियो भएन भने जनता र देशले दुख पाउँछ । महान ध्रुवीकरणमा जोडिन आग्रह गर्दछु’प्रचण्डले भने, ‘यदी उहाँहरु ढिला गर्नु भयो उहाँहरु व्यक्ति रहनु हुने छ संस्था रहने छैन।’ आफू रातदिन माओवादी ध्रुवीकरण र एकीकरणमा लागि परेको प्रचण्डले बताए।
यस्तै जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले माओवादी केन्द्रमा फर्कदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन । बिहीबार गौरीगंगा नगरपालिकामा पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै टुटेफूटेमा कम्युनिष्टहरू एक हुनुपर्ने बताए । उनले कम्युनिष्टहरू एक नभए प्रतिक्रियावादीहरुले खेल्ने मौका पाउने बताए । उनले जसपमा रहदा आफुले बाबुरामलाई कम्यूनिष्ट पार्टीमा एकता हुन आग्रह गरेको बताउँदै ‘भट्टराईले नमानेपछि मैले उहाँको पार्टी छोड्ने निर्णय गरेको हुँ ।’
कुन्दनसँगै एक हजार छ सय ५१ जना पार्टीमा ध्रुवीकरण गरेको बताए । उनले भने –‘माओवादी सकिएको छ भन्ने गरिएको छ । माओवादी सकिएको छैन भन्ने सेती महाकालीले देखाउने छ ।’ कृष्ण चौधरीको राजनीतिक यात्रा माओवादी केन्द्रबाटै शुरु भएको थियो । २०६४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी माओवादी केन्द्रबाट सांसदमा विजयी भएका थिए । माओवादी केन्द्रका अध्यक्ष र हाल जसपमा रहेको डाक्टर बाबुराम भट्टराईबीच टुटफुट हुँदा उनी भट्टराईसँगै लागेका थिए । भट्टराईले नयाँ शक्ति केन्द्र पार्टी दर्ता गरेपछि उनी सोही पार्टीमा गएका थिए । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका २ हजार बढी पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् । आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन्। मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टी, विप्लव र एमालेबाट हजारौं कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताइएको छ । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका छन्।