कैलाली। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गतेका लागि तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका हुन् । बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि आफूहरु तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । अब त केही कन्फूज छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँगको अन्तरक्रियामा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ। तर असन्तुष्टि धेरै ठूलो छैन।
असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ। यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु।’ जस्तो सुके परिस्थितिमा पनि गठबन्धन चुनाव गराउने र लोकतन्त्रलाई जोगाउने हिसाबले अगाडि बढेको उनको भनाइ थियो। बिहीबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोको सहमतिले गठबन्धनलाई अझै सबल बनाएको दाबी गरे।
सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन् । फरक प्रसंगमा कुरा गर्दै उनले अहिले माओवादी केन्द्र बलियो बनेर अगाडि बढेको बताए। छुट्टिएर गएका साथीहरू पनि क्रमशः माओवादीमै फर्किएको उनको भनाइ थियो। गठबन्धनका बीच देशभर तालमेल गर्ने निर्णय भएको उनले बताए। ‘कतै समस्या भएमा मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएको छ,’ उनले भने, ‘त्यसै अनुसार अगाडि बढ्ने हो।’ राष्ट्रको आवश्यकता अनुसारै गठबन्धन गरिएको उनको दाबी थियो।