धनगढी । सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा लगातार बसेको बैठक बुधवार निष्कर्षमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएका छन्।
गठबन्धनमा भएको सहमतिअनुसार धनगढी उपमहानगरपालिका भने कांग्रेसको भागमा परेको छ। यस्तै धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ। शीर्ष नेताहरुले उक्त सहमतिमा हस्ताक्षर गरेर तालमेल गर्दै चुनावमा जाने सहमति भएको हो। मेयर र उपमेयर कुन पार्टीले पाउने टुंगो लागे पनि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा टिकटका लागि नेताहरुबीच हानथाप नै भइरहेको छ।
काँग्रेसबाट अहिलेका मेयर नृपबहादुर वड, नेता कृष्णबहादुर महरा, पूर्ण कुँवर, हरिश खड्का, यज्ञराज उपाध्याय, जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले मेयरका लागि आवेदन दिएका छन्। माओवादीको भागमा उपमेयर परे पनि उक्त पार्टीले मेयरमा पनि नाम सिफारिस गरेको थियो। माओवादी केन्द्रले शान्ति अधिकारीलाई मेयरमा सिफारिस गरेको थियो।अब नेपाली कांग्रेसले ३ महानगरमा प्रमुख र ३ महानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरमा उम्मेदवारी दिने तय भएको हो। वीरगंज, भरतपुर र पोखरामा भने कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ। यस्तै, ७ वटा उपमहानगरमा कांग्रेसले प्रमुख पदमा उम्मेदवारी दिने भएको छ।
धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर,नेपालगन्ज र धनगढीमा प्रमुख पदमा उम्मेदवारी दिने भएको हो। ३ उपमहानगरमा कांग्रेसले उमपेयरमा उम्मेदवारी दिने छ। जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरमा उपप्रमुख कांग्रेसले पाएको हो।नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा मेयर र ललितपुर महानगरमा उपमेयर पाएको छ। जितपुर सिमरा र घोराही उपमहानगरमा माओवादीले मेयरमा उम्मेदवारी दिने तय भएको छ। धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा माओवादीले उम्मेदवारी दिने सहमति भएको हो। यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख पदमा उम्मेदवारी दिनेछ भने हेटौंडा उपमहानगरमा पनि एकीकृत समाजवादीकै उम्मेदवार चुनावमा उठेने भएका छन्। इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिने तय भएको छ।जनता समाजवादी पार्टी जसपाले वीरगंज महानगरमा प्रमुख र विराटनगरमा उपप्रमुखको भाग पाएको छ। जनकपुर उपमहानगरमा पनि जसपाले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ। यस्तै कलैया र नेपालगन्जमा उपप्रमुखमा जसपाले उम्मेदवारी दिनेछ। गठबन्धनले जारी गरेको सहमति पत्रमा कुनै पालिकामा सहमति जुटन नसकेको अवस्थामा गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने उल्लेख छ। सहमतिको पूर्णपाठ :
आज मिति २०७९/०१/०७ गते पाँच दलीय गठवन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो । बैठकले २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूको प्रमुख र उप–प्रमुख पदमा तपसिल बमोजिमका दलहरूले तपसिल बमोमिको पदमा उम्मेदवार दिने सहमति गर्यो । सहमति बमोजिम गर्न गराउन आ–आफ्ना राजनीति दलका निकायहरूलाइ निर्देश गरिन्छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू
१. काठमाडौं २. ललितपुर ३. विराटनगर
उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकाहरू
१. वीरगञ्ज २. भरतपुर ३. पोखरा
प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. धरान २. इटहरि ३. कलैया ४. बुटवल ५. तुलसिपुर ६. नेपालगंज ७. धनगढी
उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. जितपुर सिमरा २. घोराही ३. हेटौडा
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. भरतपुर
उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. ललितपुर
प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. जितपुर सिमरा २. घोराही
उपप्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. धरान २. धनगढी
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. पोखरा
उपप्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. काठमाडौं
प्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिका
१. हेटौडा
उपप्रमुख पदमा उम्मेदबारी दिने उपमहानगरपालिकाहरू
१. इटहरी २. बुटवल ३. तुलसिपुर
जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिका
१. वीरगञ्ज
उपप्रमुख पदमामा उम्मेदवारी दिने महानगरपालिका
१. विराटनगर
प्रमुख पदमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. जनकपुर
उपप्रमुख पदमामा उम्मेदवारी दिने उपमहानगरपालिकाहरू
१. कलैया २. नेपालगञ्ज
पाँच दलीय गठवन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्वन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठवन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझादारी भयो ।