कैलाली। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन सुदूरपश्चिममा तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको तयारी तीव्र पारेको हो।
प्रदेशमा रहेका ८८ स्थानीय तहका लागि १ हजार १ सय ३५ मतदानस्थल र २ हजार १ सय ३ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए। वैशाख ३० गते हुने निर्वाचनका लागि प्रदेशका सबै निर्वाचन कार्यालयले वैशाख ८ गते (भोलि) जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने गरी तयारी भएको बताए ।
निर्वाचनका लागि आवश्यक सामाग्री मतदान केन्द्रमा पुर्याउने काम भइरहेको उनले बताए । मतदानस्थलको अनुगमनसमेत गरिएको उनले जानकारी दिए। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र रहेको बताउँदै निमित्त प्रमुख भट्टले कैलालीका १३ पालिकामा ६ सय १९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने बताए । उनले कञ्चनपुरका ९ पालिकाका ३ सय ४१ मतदान केन्द्रमा एक हजार ८ सय बढी कर्मचारी खटिने जानकारी दिए । सुदूरपश्चिममा यो वर्ष १६ लाख ३२ हजार १ सय ५२ मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमध्ये ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना तेस्रो लिङ्गि रहेका छन् । जसबाट प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुख १ सय ७६, वडा अध्यक्ष ७ सय ३४ र २ हजार ९ सय ३६ वडा सदस्यका लागि निर्वाचन हुने छ । जसबाट ३ हजार ८ सय ४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचन सुरक्षा
कैलाली जिल्लाभर ५२ वटा मतदान स्थल अति संवेदनशील, संवेदनशील १ सय ३१ वटा र सामान्य ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रत्येक पालिकामा बाहिरी घेरामा ३५ जनाको नेपाली सेनाको टोली रहने जोशीले जानकारी दिए । निर्वाचनलाई मध्येनजर गर्दै सुरक्षा व्यववस्था समेत चुस्तदुरुस्त पारिएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नेपाली सेनाका साथै सुरक्षाका सबै चारै अंगहरु निर्वाचनमा खटिने बताए । संवेदनशील निर्वाचन केन्द्रमा तीन म्यादीसहित आठदेखि नौ जना प्रहरी, अति संवेदनशील ठाउँमा पाँचजना प्रहरीसहितको टोली र सामान्यमा दुई प्रहरी र चारजना म्यादी प्रहरीको टोली रहनेछ । त्यस्तै, सशस्त्र प्रहरीको हकमा डिएसपीको कमाण्डमा तीनवटा मोबाइल टोलीअन्तर्गत २७ जना रहनेछन् ।
प्रत्येक नगरपालिकामा पाँचदेखि तीन जनासम्मको स्टकिङ्ग फोर्स राखिएको जोशीले बताए । उनले सशस्त्र प्रहरीको हकमा डीएसपीको कमाण्डमा तीनवटा मोबाइल टोली अन्तरगत २७ जना रहने बताए । यस्तै, जिल्लाभरि नेपाल प्रहरीको डीएसपीको कमाण्डमा ५ वटा टोली रहने र जसमा करिब १ सय ७५ जना रहने छन् । यो टोली आवश्यकता अनुसार परिचालन गरिने र मुख्य निर्वाचन कार्यालयमा ५-५ जनाको टोली निर्वाचन अधिकृतको सुरक्षाको लागी खटाइएको जोशीले बताए । त्यस्तै, एसपीको कमाण्डमा १० जनाको टिम अनुगमनको लागी तयार पारिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । कैलाली जिल्लाको हकमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र ११ जना अन्य गरी जम्मा ५ लाख २५ हजार १२५ जना मतदाता रहेका छन् । भने यसमा नयाँ थपिने मतदातामा पुरुष ३२ हजार ५ सय ९५, महिला ३१ हजार ९ सय ४९ र अन्य ३ जना गरी ६४ हजार ५ सय ४७ जना थप भएको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनले कैलाली जिल्लाको हकमा ६ सय १९ वटा मतदान केन्द्र र २ सय ३६ ओटा मतदान स्थल कायम गरिएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनी तयारी तीव्र पारिएको छ ।
सुदूरपश्चिमका कुन जिल्लामा कति मतदाता( सुचीसहित )