धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीका जनप्रतिनिधिले सवारीसाधन सुविधा फिर्ता गर्न शुरु गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्न सुरु गरेका हुन् ।
नगर प्रमुख नृपबहादुर वडले आफूले प्रयोग गर्दै आएको सेतो नम्बर प्लेटको बा.२ च. ३८९२ नम्बरको स्कारफियो प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई मंगलबार बुझाउने तयारी गरेको बताए । उनले यसअघि प्रयोग गर्दै आएको बा।प्र ००१–०२६ च ४२०२ नम्बर प्लेटको गाडी यस अघि उपमहानगलाई बुझाई सकेका छन् । नगर प्रमुख वड दोश्रो कार्यकालका लागि पुनः नेपाली काँग्रेसको तर्फवाट धनगढी उपमहानगरपालिकाको मेयर पदका प्रमुख दावेदार हुन् ।
आफुले प्रयोग गर्दै आएको सवारी सधान फिर्ता गर्न उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्षलाई समेत निर्देशन दिइसकेको नगर प्रमुख वडले बताए । यस अघि वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल र वडा नम्बर ४ का अध्यक्ष दिपककुमार थापा क्षेत्रीले आफुले प्रयोग गर्दै आएको मोटरसाईकल सोमबार उपमहानगरपालिको जिन्सी शाखामा फिर्ता गरेका थिए ।
वडा अध्यक्ष बरालले से १ ब ६०८ र थापा क्षेत्रीले से १ ब ६०४ नम्बरको मोटसाईकल प्रयोग गर्दै आएका थिए ।