कैलाली। कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब सेमिफाईनल प्रवेश गरेको छ।
धनगढी रंगशालामा आईतबार साँझ भएको खेलमा वागमति युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो। आर्मीका लागि पहिलो हाफको १७ औं मिनेटमा ईन्दिरा राई, २९ औं मिनेटमा अमिषा कार्की र ३९ औं मिनेटमा दीपा शाहीले गोल गरिन्।
पहिलो हाफको २८ औ मिनेटमा आर्मी आत्मघाती गोल उपहार पायो । वागमतिकी सुस्मिता तामाङले आत्मघाती गोल गरिन् । दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन्। उनले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गरिन्। दोस्रो गोल पेनाल्टी मार्फत भएको हो। त्यस्तै व्यक्तीगत दोस्रो गोल गर्ने क्रममा आर्मीकी अमिषा कार्कीले खेलको ९० औं मिनेटमा गोल थपिन्।
नेपाल आर्मी क्लबले सेमिफाईनलमा नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका बीचको विजेतासँग खेल्नेछ। वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टीम नेपाल पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ । समुह ए मा रहेको पुलिसले सेमफाईनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवनको विजेतासँग खेल्नेछ । सोमबार विभागीय टीम नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन्।
खेल निशुल्क रुपमा हेर्न पाईनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ । प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।