कैलाली। पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेल गर्ने भएको छ ।
जसपाले आफ्नै पार्टीबाट अलग्गिएको लोसपासँगै रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने भएको हो । सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराए पछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर जिल्लामा अन्य साना दलसँग चुनावी तालमेल गर्ने गरी सहमति गरेको जसपाका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।‘उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठुला दलले रजाइँ गर्ने कुरा हामीलाई मान्य छैन,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौँ, अब अधिकारका लागि सङ्घर्षरत एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल हुन्छ ।’ उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ।सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक १२ स्थानीय तहमा उम्मेदवारी दिनेछ । तर, उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए । उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठुला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने उनले बताए ।
‘तालमेलका लागि एमालेलगायत ठुला दलसँग पनि आवश्यक छलफल भइरहेको छ,’ संयोजक चौधरीले भने, ‘तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना कम छ ।’ तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जसले नेतृत्व पाउँछ उसैको चुनाव चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ । तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । एक साताभित्रै उम्मेदवारी टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो । गठबन्धन भित्रै रहेको जनता समाजवादी पार्टीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा अर्को गठबन्धन गरेर जाने निर्णय गरेको छ ।