कैलाली। पछिल्लो २४ घण्टामा देशका विभिन्न १५ स्थानमा आगलागी भएको छ। पछिल्लो २४ घण्टामा अछाम, डोटी, कञ्चनपुर सहितदेशका १५ ठाउँमा आगलागी भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार छुट्टाछुट्टै आगलागीका दुई घटनामा परी एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ पिपलडाँडा बस्ने वर्ष ५२ का एक पुरुष बारीमा पात पतिङ्गर जलाउने क्रममा पाखो बारीमा आगो फैलिई आगो निभाउने क्रममा जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार सुनकोसी गाउँपालिका–३ को पिपलडाँडामा आफ्नै खरबारीमा लगाएको डढेलो फैलन थालेपछि निभाउने क्रममा डढेर ५२ वर्षीय एकुमबहादुर श्रेष्ठको मृत्यु भएको हो।
यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ तिधरे लामिछाने टोलास्थित एक गोठमा कुँडो पकाउने क्रममा अचानक आगलागी हुँदा भैँसीको मृत्यु भएको छ भने आगो निभाउने क्रममा वर्ष ३८ की एक महिला घाइते भएकी छन्।प्राधिकरणका अनुसार कास्की, रुपन्देही, पर्सा, दाङ, सप्तरी, सप्तरी, अछाम, डोटी, कञ्चनपुरका दुई स्थान, काभ्रेपलाञ्चोक, स्याङ्जा र पाँचथरमा भएको आगलागीका कारण करोडौंको सम्पत्ति क्षति भएको छ। यस्तै, ऐरावती गाउँपालिका–५ खवाङ स्थित राइमनेबोखोला सामुदायिक वनमा आगलागी भएको छ। प्राधिकरणका अनुसार रुपन्देहीमा चट्याङ र लमजुङमा हावाहुरीका कारण क्षति भएको छ।