डोटी। डोटीका केही पालिकामा सर्वसम्मत अध्यक्ष उम्मेदवार चयन भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला डोटीमा भने केही पालिकामा दलहरूले सर्वसम्मतरुपमा उम्मेदवार छानेका हुन्।
नेपाली कांग्रेसको तर्फबाट सायल गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन्। एमालेका तर्फबाट सायल गाउँपालिकाका अध्यक्ष /उपाध्यक्ष र जोरायल गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसका तर्फबाट सायल गाउँपालिकाको अध्यक्षका लागि धर्मराज जोशी सर्वसम्मत उम्मेदवार भएका छन् ।
कांग्रेस डोटी सभापति गणेश खड्काका अनुसार पार्टीको सायल गाउँ इकाई समितिको बैठकले जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो। जोशी २०७४ सालको निर्वाचनमा समेत सोही पदका उम्मेदवार थिए। सो निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार तेजबहादुर डुम्रेलसँग ३१९ मतले पछि परेका थिए । उपाध्यक्षको उम्मेदवारको भने टुङ्गो लागि नसकेको सचिव खड्काले जानकारी दिए। खड्काका अनुसार विभिन्न स्थानीय तहका केही वडाहरूमा पनि सर्वसम्मत उम्मेदवार चयन भएका छन्।
सायल गाउँपालिकामै एमालेले अध्यक्ष पदमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष पदमा बिष्नादेवी सिंहलाई सर्वसम्मत उम्मेदवार छानेको छ । एमाले डोटीका सचिव शेरबहादुर मल्लका अनुसार पार्टी गाउँ कमिटीले अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार छानेको हो। डुम्रेल र सिंह ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ र सिंहले ४६६ मतले पछि पारेका थिए। यस्तै, एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझा र उपाध्यक्ष पदका लागि जमुना बोहरालाई फेरि अघि सारेको छ । ओझा र बोहरा दुवै गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । ओझाले आफ्ना प्रतिस्पर्धीलाई ६३६ र बोहराले नौ सय १३ मतले पछि पारेका थिए । धेरै जसो वडाहरूमा समेत सर्वसम्मत उम्मेदवार चयन भएका एमालेले जनाएको छ । अन्य स्थानीय तहहरूमा समेत सर्वसम्मत उम्मेदवार चयनको प्रयास भइरेको सचिव मल्लले जानकारी दिए ।