बझाङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिएका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्याउन लागेको टिप्पणी गरे । बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी समेत गरे । ओलीले भने – हामीले वृद्ध भत्ता पाँच हजार पुर्याउने भनेका थियौंं । तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था आउन थालेको छ ।
हामीले कोभिड लागेको बेला समेत कर्मचारीको तनखा बढायौँ । तर यो सरकार कर्मचारीलाई तनखा समेत खुवाउन नसक्ने अवस्थामा छ । उनले थपे, ‘यिनीहरू देश बनाउन होइन लुट्न बसेका हुन् । पाँच वटा मुख भएका खन्चुवाहरूले देशलाई बर्बाद पारिरहेका छन्, लुटिरहेका छन्।