बझाङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल आज बझाङ जाने भएका छन्।
एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बझाङ आउन लागेका हुन्। बझाङमा पत्रकार सम्मेलन गर्दै जिल्ला पार्टी कार्यालयले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।
कार्यक्रममा ३० हजार बढी स्थानीय उपस्थित हुने अपेक्षा गरिएको एमाले बझाङ अध्यक्ष दमन भण्डारीले जानकारी दिए । उनले कार्यक्रमको लागि ५ सय भन्दा बढी स्वयंसेवक परिचालन गरिएको समेत बताए । ‘सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘बझाङमै पहिलो पटक यति ठुलो कार्यक्रमको आयोजना गर्ने तयारीमा छौँ ।’ आज करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् ।
‘२ हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो’ एमाले बझाङ इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंहले भने ‘ ‘हामीले राष्ट्रिय स्तरमै चर्चा पाउने गरी कार्यक्रम गर्ने योजना बनाएका छौँ ।’ १० औँ महाधिवेशन पछि पहिलो पटक अध्यक्ष र उपाध्यक्ष सुदूरपश्चिम प्रदेशमा आउन लागेका हुन् ।
पहिलो पटक अध्यक्ष र उपाध्यक्ष आउने कार्यक्रम ऐतिहासिक हुने एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने । ‘पार्टीलाई सङ्कट पर्दा सधैँ सुदूरपश्चिम अगाडी देखिएको छ’ उनले भने ‘आगामी निर्वाचनमा पनि सूर्य पश्चिमबाट उदाउने सङ्केत गर्दै भोलि कार्यक्रमको आयोजना हुन लागेको हो । ’ उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।