धनगढी। धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो।
स्पोर्टस अवार्डमा दिइने ८ वटा विधा मध्येको सुदूरपश्चिम आईकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष अवार्ड हुने भएको छ। यो अवार्ड दोस्रो संस्करणदेखि थप गरिएको विधा हो। यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल पुरुष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ। खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए।
उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य हुन । खेलकुद क्षेत्रमा सक्रिय उनी निर्माण व्यवसायी समेत हुन्। उनी लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहदै आएका छन् । ‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिँदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्नका लागि मद्दत मिल्ने मञ्चका अध्यक्ष सीताराम ओझाले बताए। धनगढीमा २५ करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको ‘माया मेट्रो’ अस्पताल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ शैयाको अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा, आइसियु- एनआइसियु- पिआईसियु सेवा, वातानूकुलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबीसै घण्टा फार्मेसी लगायतको सेवा सुविधा रहेको छ । अस्पतालमा सिटीस्क्यान सेवा समेत रहेको छ। अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन्। त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ। त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ। अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ।विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।