कैलाली। नेपाली काँग्रेस केही दिनमै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको हो ।
काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा सहभागिताबारे केन्द्रबाट खबर आएको जानकारी दिए । उनले भने, ‘भर्खर मलाई केन्द्रबाट खबर आएको छ । आज–भोलिमा मन्त्रालयको विषय टुङ्गिन्छ होला ।’ स्थानीय तह निर्वाचनको आचारसंहिता लागू नहुनुअघि सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको उनको भनाइ छ । यही चैत २५ गतेबाट चुनावी आचारसंहिता लाग्ने बुझिएको छ ।
सुदूरपश्चिम प्रदेशमा आज बिहान पनि प्रदेशस्तरीय गठबन्धनको बैठक बसेको थियो । बिहानको बैठकमा चुनावी तालमेलबारे छलफल केन्द्रित भए पनि अब सरकारमा काँग्रेसको सहभागिताबारे छलफल हुने बलायरको भनाइ छ । गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्की हुँदा विषयले मूर्तरूप पाएको थिएन । नेपाल टर्कीबाट फर्किएपछि मंगलबार बसेको बैठकमा सुदूरपश्चिममा काँग्रेसलाई सरकारमा सहभागी गराउने विषयमाथि छलफल भएको थियो ।
सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवादी काँग्रेसलाई सरकारमा सहभागी गराउन सहमत छन् । तर मन्त्रालयगत भागबण्डामा कुरा मिलाउन बाँकी रहेको छ । सत्ताको नेतृत्व माओवादीले गरेपनि काँग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले मन्त्री फिर्ता बेलाउनु पर्ने अवस्था छ। अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् । अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र काँग्रेसलाई २–२ वटा मन्त्रालय राखेर जान सकिने काँग्रेसको प्रस्ताव छ ।
यस्तै माओवादी र काँग्रेसले १–१ राज्यमन्त्री मिलाएर जाऊ भनेर प्रस्ताव राखेको काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले बताए। सरकारमा सहभागी गराए मात्र सुदूरपश्चिममा गठबन्धन गर्ने काँग्रेसको अडान छ । काँग्रेस सुदूरपश्चिम प्रदेशको उक्त अडानका कारण सरकारमा सहभागी गराउनुपर्ने बाध्यता माओवादी र एकीकृत समाजवादीलाई परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री दीर्घ सोडारीले भने केन्द्रबाट आफूलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘हामीलाई अहिलेसम्म केन्द्रबाट कुनै जानकारी आएको छैन। केन्द्रबाट नेताहरूले जे गर भन्नुहुन्छ हामी त्यही गर्छौँ ।’