बैतडी। बैतडीमा एक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ स्थित रायपुर आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि पठनपाठन प्रभावित भएको हो ।
उक्त बिद्यालयमा अध्ययनरत कक्षा ३, ४, ५, ६ र ७ मा पढ्ने ७ जना छात्राहरुमा करिब छ महिना देखि टाउको दुख्ने, एक्कासी बेहोस हुने, बर्बराउने, रिङ्गटा लाग्ने लगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक भरतबहादुर चन्दले जानकारी दिएका छन् ।
छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि उनीहरुको स्वास्थ्य जाँच गराउँदा समेत निको नभएको प्रधानाध्यापक चन्दले बताएका छन्। यसका साथै नजिकको मन्दिरमा पनि पूजापाठ गरिएको प्रधानाध्यापक चन्दले बताए । उनले भने ‘हामीले छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि स्वास्थ्य चेकजाँचका साथै पूजापाठ पनि गर्यौं । तर पनि उनीहरुमा देखिएको समस्या समाधान नभएको प्रधानाध्यापक चन्दले बताए । विद्यालयमा छात्राहरुमा त्यो समस्या देखिएपनि उनीहरु घर फर्केपछि भने सो समस्या नदेखिने गरेको उनको भनाई छ ।