काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।
द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।
यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन्। चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर शुक्रबार भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवा आइतबार बनारस भ्रमण सकेर सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।