कैलाली। कैलालीमा किसानको बंगुर खाएर भागेको चितुवालाई स्थानीय बासिन्दाले पासो थापेर मारेका छन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० नजिकै झिरोखामा भन्ने स्थानमा पासो थापेर चितुवा मारिएको हो ।
पासोमा परेर चितुवा मरेको छ। पासो कसले र केका लागि हालेको भन्ने केही पनि खुलेका छैन । चितुवा बिहीबार बिहान पासोमा परेको र उद्दार टोलीले काम गर्न नपाउँदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए । उनका अनुसार उद्दारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ चितुवा मरेको हो । मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडिने रिजालले बताए । पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए । उक्त वन क्षेत्रमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन् । दुई वर्षअगाडि कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर छाडा र मौन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो ।