धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा श्रेय लिने होडमा नगरपालिकाले भवनको काम सम्पन्न नहुँदै उद्घाटन गरेको हो ।
एशियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत निर्माण भइरहेको भवन नगरपालिकालाई हस्तान्तरण समेत भएको छैन । भवन निर्माण सम्पन्न नहुँदै आफु श्रेय लिनका लागी उद्घाटन गरिएको भन्दै बिभिन्न राजनितिक दलहरुले समेत बिरोध गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागी सहरी बिकास तथा भवन निर्माण संघिय कार्यान्वयन इकाई धनगढी र एम÷एस शर्मा एण्ड कम्पनीसंग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले नै ठेक्का सम्झौता गरेको थियो । सोही अनुसार हाल भवनको निर्माण कार्य जारी रहेकै बेला कार्यालयबाट भवन हस्तान्तरण नहुँदै नगरपालिकाले तामझामका साथ उद्घाटन गरेको छ ।
सहरी बिकास तथा भवन निर्माण संघिय कार्यान्वयन इकाई धनगढीलाई नगरपालिकाले उद्घाटनका लागी पत्र पठाएपनि निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्न नमिल्ने जवाफ कार्यालयले पठाएको थियो । तरपनि निर्माण गर्ने कार्यालयलाई बेवास्ता गर्दै अधुरो भवन उद्घाटन भएको छ । सहरी बिकास कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रमुख प्रबिन शाहका अनुसार भवनको हाल ८५ प्रतिशत काम सम्पन्न भएको र जेठ मसान्त भित्र काम सकिने छ ।
तर गोदावरी नगरपालिकाका मेयर हरी सिहं साउँदले भने भवन उद्घाटन गर्ने अधिकार स्थानीय तहको हुने दावी गर्दै भवन उद्घाटन गर्न भ्याए । यो अधिकार स्थानिय तहकै भएका कारण अरुका कुरा नसुनेको साउँदको भनाई छ । उद्घाटन गर्दै साउँदले भवन निर्माण कार्यालयले चैतमै निर्माण सम्पन्न गर्ने भनेका कारण चैतमै भवन उद्घाटन गरेको भन्न समेत भ्याए ।
भवन उद्घाटन कार्यक्रममा मेयर साउँदले भने “यो कुनै राजनितिक दलका लागी बनाइएको भवन होइन जनताका लागी हो हाम्रो अधिकार अनुसार उद्घाटन गरेका छौँ कसैले राजनितिक प्रतिसोध नसाँध्दा हुन्छ ।” स्थानिय सरकारको भवन हो यो यो स्थानिय सरकारकै अधिकारभित्र पर्छ उनले भने “समय समयमा भवन निर्माणका लागी ताकेता गर्दापनि ढिलाई गर्नुभयो शहरी बिकास तथा भवन निर्माण संघिय कार्यान्वयन इकाई धनगढीले अन्तिम समय चैतमा दिएको थियो चैतमापनि काम पुरा गरेन र दिएको समयमा हामीले उद्घाटन गरेका छौँ ।”
निर्माणाधिन भवनको उद्घाटन गर्न लागिएको भन्दै नेकपा एमाले बाहेकका राजनीतिक दलले बिरोध गरेका थिए । बिरोधकै बिच नगरप्रमुख साउदले भवनको उद्घाटन गरेका छन । मेयर साउँदले ठुलो सुरक्षा घेरा लिएर भवनको उद्घाटन गरेका हुन् । निर्माणाधीन भवनको उद्घाटन गरिन लगिएको भन्दै आईतवार नेपाली काङ्ग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । ५ बर्षसम्म कुनै काम गर्न नसकेका मेयरले अर्काको बजेटमा बन्न लागेको भवन समेत अधुरै उद्घाटन गर्नु लज्जास्पद भएको नेपाली काग्रेंस गोदावरी नगर समिति सचिव अशोक देवकोटाले बिरोध जनाए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्टिय जनमोर्चा लगायतलेपनि अधुरै भवन उद्घाटन गरिएको भन्दै बिरोध जनाएका छन् । मेयरको एकलौटीपनले भोलीका दिनमा समस्या निम्तिन सक्ने अन्य राजनितिक दलहरुले चेतावनी समेत दिएका छन् ।
माओवादी केन्द्र गोदावरी नगर समिति अध्यक्ष धर्म कुँवरले अधुरै भवन उद्घाटन गर्ने अधिकार कसैलाई नभएको बताए । यो नियम बिपरित उद्घाटन भएको छ उनले भने “नगरपालिकामा अहिले एमाले होला भोली अर्को दल आउला नियम सबैले मान्नुपर्छ निर्माण सकेर उद्घाटन गरेको भए के हुन्थ्यो ?”
नेकपा एकिकृत समाजवादी गोदावरी नगर कमिटि अध्यक्ष टेक बिकले यो कुनै एमालेको नगर पालिका नभएको बताए । एशियाली बिकास बैकंको श्रृण सहयोगमा संघ सरकारले बनाउन लागेको भवन उद्घाटनमा हतार गर्ने मेयरको यही लाचारीपनले ५ बर्षे कार्यकाल शुन्य प्रगतिमा बितेको प्रस्ट भएको उनले बताए ।
सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सकिएको भएपनि कोरोना महामारीका कारण देखाउँदै हाल म्याद थप गरी काम भइरहेको छ । भवन निर्माणको म्याद जेठ मसान्त सम्म रहेको छ ।