बैतडी। चार छोरालाई फौंजी बनाउने बैतडीकी एक आमालाई नेपाली सेनाले सम्मान गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी बरकुरालीकी धनमाया नाथलाई सम्मान गरिएको हो ।
त्यही ठाउ बरकुरालिमा नेपाली सेनाका अबकाशप्राप्त जमदार स्वर्गीय गणेश नाथ र आमा धनमायाका जुम्ल्याहासहित चारभाई छोराहरु (नरेश, राम–लक्ष्मण र दिलिप नाथ) सेनामा कार्यरत छन् । उनका चार जना छोरा नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ अहिले नेपाली सेनामा कार्यरत रहेका छन् । चार जना छोरालाई सेनामा पठाउन प्रोत्साहित गर्ने आमालाई बुधवार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
प्रधानसेनापति शर्माले ‘भू.पू. सैनिक सम्मेलन–२०७८’ को उद्घाटन समारोहको अवसर पारेर उनलाई सम्मान गरेका हुन् ।बुवा स्वर्गीय गणेश नाथ सेनामा जमदार थिए । उनको पनि सपना थियो, छोराहरुलाई आफू जस्तै देशप्रति समर्पित गराउने । उनको सपना चार भाई छोराहरुले अहिले पुरा गरिरहेका छन् । सेनाले गरेको यो सम्मानको सबैतिर प्रशंसा भइरहेको छ ।