धनगढी। कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेशले सुखद सुरुवात गरेका छन्।
प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा विजयी हुँदै तीन वटै टोलीले सुखद सुरुवात गरेका हुन्। मंगलबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो। पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो। खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका रविन चन्द भए।
मंगलबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गरेको छ। गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९–२५ ले गुमाएको थियो। तर २५–२३ ले चौथो सेट जित्दै गण्डकीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। खेलका म्याद अफ द म्याच गण्डकीका घनश्याम चौधरी भए।
मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ। बागमतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने २३–२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५–२१ र २५–१६ ले बागमती प्रदेशले जितेको हो। खेलका म्यान अफ द म्याच बागमती प्रदेशका नविन महतो भए। बागमतीसंग पराजित भएसंगै मधेश प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनीबाहेक ६ वटा प्रदेश र तीन वटा विभागीय गरी ९ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ। प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुनेछन्।