धनगढी। सुदूरपश्चिममा आज (शुक्रवार)भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीमा दुई,अछाम,बझाङ र डोटीमा एक/एक जना गरी पाँच जनाको मृत्यु भएको जनाएको छ ।
शुक्रवार कैलालीको टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १७ वर्षीय अन्जील कार्की र प्रजापति चौधरीको मृत्यु हो । से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्जीलको टीकापुरमै मृत्यु भएको हो भने प्रजापतिको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै शुक्रबार नै बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका– ६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो। कुँवर रेडियो सेरोफेरो बझाङमा कार्यरत थिए ।
उता अछाममा पनि मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मङ्गलसेनबाट साँफेबगर जाने क्रममा मङ्गलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाश खोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो।बिहीबार से ६प१८९९ नम्बरको दुर्घटनामा परि मङ्गला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।यस्तै डोटीको आदर्श गाउँपालिका २ मा ट्याक्टरको ठक्करबाट स्थानीय ८ वर्षका बालक दुरज साउदको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।