धनगढी। सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । बागमती र फ्रेन्ड्सबीचको खेल ३ बजेपछि सुरु हुनेछ।आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ। त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ।
यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४(२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ। सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो। फ्रेन्ड्सलाई हराएर बागमती आफ्नो सनसनीपूर्ण यात्रा कायम राख्न चाहन्छ ।
फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।आयोजक सुदूरपश्चिम(११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।प्रतियोगितामा टिकट दर राखिएको छ। जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।