बझाङ। बझाङमा निगालो काट्न रोक लगाएपछि पुर्ख्यौली पेसा संकटमा परेको छ। खप्तड राष्ट्रिय निकुञ्जले निगालो काट्न रोक लगाएपछि पेसा नै संकटमा परेकाले जागिरको खोजीमा भारत जानुपरेको स्थानियहरुले बताएका छन् ।
बझाङको थलारा गाउँपालिका वडा नं.५ दुवालीका पार्की समुदायले निगालोको चोयाबाट विभिन्न सामाग्री बनाएर आफ्नो जीविका चलाउँदै आएका थिए । तर, पछिल्लो समय निकुञ्जले निगालो काट्न रोक लगाएपछि उनीहरूको पेसा नै संकटमा परेको हो ।थलारा गाउँपालिका वडा नं. ५ का दिनेश पार्कीले भन्छन्, ‘निगालोबाट विभिन्न सामान बनाएर आजसम्म बिहान बेलुकाको छाक चलाइन्थ्यो ।
अहिले निकुञ्जले नै निगालो संकलनमा रोक लगाएको छ । अब त खाने बाटो पनि बन्द हुने अवस्थामा पुग्यो । पुर्खाको दिनदेखि नै चलिआएको चलनलाई निरन्तरता दिँदै आफ्नो गुजारा निगालोबाट बनेका विभिन्न सामग्री बेची भएको थियो । त्यसलाई पनि निकुञ्जले बन्द गरिदियो ।’खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा पर्ने थलारा-५ दुवालीमा ३० परिवार पार्की थरका मानिसको बसोबास छ । दलित समुदायअन्तर्गत पर्ने यो समुदायका मानिसहरूको खेतीपाती गर्ने जग्गा जमिन छैन ।
निगालोका डोको, सुपो (नाङ्लो), रोटी राख्ने छाप्रा (टोकरी), भकारी, पाथीजस्ता सामानहरू बुन्ने र त्यही बेचेर जीवन निर्वाह गर्ने यो समुदायको पेसा निगालाकै अभावमा बन्द हुने अवस्थामा पुगेको हो । ‘खेती गरेर खानलाई आफ्नो नाममा जग्गा छैन । निगालोको सामान बनाउने सीप थियो, निकुञ्जले चाहिएको बेला निगालो काट्न दिँदैन’, स्थानीय प्रभते पार्कीले भने, ‘बाउबाजेका दिनदेखि गर्दै आएको काम गने वातावरण पनि छैन । भएको सीपले पनि काम नदिएपछि हामीलाई गुजारा चलाउन हम्मेहम्मे भएको छ ।’
खप्तड राष्ट्रिय निकुञ्जले वर्षमा एक पटकमात्रै निगालो काट्नका लागि अनुमति दिने गरेको बताउँदै एकपटक काटेको निगालोले बढीमा दुई महिनासम्म काम दिने उनको भनाइ छ । दुई महिनापछि उक्त निगालोको सामान बनाउन मिल्दैन । एक पटक काटेको निगालोले वर्षभरि सामान बनाउन अपुग हुने गरेको स्थानीय नरे पार्कीले बताए।‘एकपटक काटेको निगालो १५-२० दिनसम्म चल्छ । त्योभन्दा बढी राख्यो भने चोया निकाल्नै नमिल्ने गरी सुक्छ । हामी वर्षभरि नै खाली हात बस्नुपर्छ’, उनले भने ।पार्की समुदायले चोयाबाट बनाएका सामानको मूल्य ४ सयदेखि ५ हजारसम्म बिक्री हुने हुन्छ। गाउँका प्रायः सबै उमेर समूहका व्यक्तिहरू चोयाको सामान बनाउन सिपालु छन् । तर निगालो नपाउँदा बेरोजगार हुनुपरेको उनीहरूको गुनासो छ ।
निगालो अभावपछि भारतको रोजगारी
निगालोको अभाव भएसँगै गाउँका प्रायस् युवाहरू अहिले भारतमा मजदुरीका लागि जाने गरेका छन् । गुरुदेवी पार्कीले भनिन्, ‘निगालो भयो भने घरमै बसेर दिनकै हजार-पन्ध्र सय कमाउनु हुन्थ्यो । घरपरिवारको पनि हेरचाह हुन्थ्यो । निगालो काट्न बन्द गरेपछि अहिले इन्डियाको मजदुरी गर्नुपरेको छ । सीप त्यसै खेर गएको छ ।’गुरुदेवीका श्रीमान अहिले कामको खोजीमा भारत छन् । पुर्ख्यौली पेसा विस्थापन हुदै गएपछि अहिले दुवाली गाउँमा एकल महिला, वृद्ध र असहायहरू मात्रै गाउँमा छन् । गाउँमा मागेर गुजारा गर्नु परिरहेको स्थानीय गणेश पार्कीले बताए । एक वर्षभित्र नकाट्दा जंगलमा रहेको निगालो पनि सुकेर खेर जाने भएकाले व्यवस्थित तरिकाले काट्नका लागि अनुमति दिनुपर्ने उनको भनाइ छ । ‘एक वर्षभित्र काटेन भने निगालो पनि फुलेर सुक्छ । उता जंगलमा निगालो त्यसै खेर गइरहेको छ । यता हातमा सीप हुँदाहुँदै मागेर खानुपरिरहेको छ । बरु कस्तो निगालो काट्ने, कुन ठाउँ भनेर निकुञ्जका कर्मचारीको निगरानीमा चाहिएको बेला निगालो काट्ने व्यवस्था गरिदियो भने हाम्रो पुर्ख्यौली पेसा जोगिने थियो’, उनले भने ।