बाजुरा। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी गृहजिल्ला बाजुरामा पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृहजिल्ला बाजुरा भ्रमणमा पुगेका हुन् ।
साता लामो भ्रमण तालिका बनाएर बिहान मात्रै बाजुरा पुगेका जोशीलाई बूढीगंगा नगरपालिकाका विभिन्न स्थानमा स्वागत गरिएको छ । बाजुराले प्राप्त गरेको हालसम्मकै सरकारी ओहोदाको उपल्लो राजकीय पद भएकाले जिल्लाबासी खुसी छन्। जिल्लाबासीसँगको भेटघाट तथा अन्तरक्रियासहितको भ्रमण लिएर प्रमुख जोशी बाजुरा गएका हुन्। जोशीलाई बिहान इकडीगाटदेखि नै स्वागत गर्ने र बधाइ दिनेको लाम लागेको थियो।
कांग्रेसबाट ०४८ को आमनिर्वाचन र ०६४ को संविधानसभा निर्वाचन जितेका जोशी निष्ठा र इमानको राजनीति गर्नेमध्येमा पर्छन्। कांग्रेस गठनबन्धन नेतृत्वको सरकारले जोशीलाई प्रदेश प्रमुख बनाएको थियो। प्रदेश प्रमुख भएलगत्तै गृहजिल्ला आउने रहर भएर पनि समय व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको स्थानीयसँगको साक्षात्कार कार्यक्रममा जोशीले बताए।
जोशीको स्वागतमा विद्यालय, संघ–संस्था, जिल्लाबासीको लस्कर लागेको छ। जोशीको स्वागतका लागि कांग्रेस बाजुराका नेता, कार्यकर्ताको बाक्लो उपस्थिति छ। उनलाई बाजागाजासहित स्वागत गरिएको छ। प्रदेश प्रमुखको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख पनि सहभागी छन्। प्रदेश प्रमुखको भूमिका निर्वाह गर्ने क्रममा सबैलाई समान नजरले व्यवहार गर्ने र जिल्लाको विकासमा सक्दो पहल गर्ने कार्यक्रममा जोशीले बताए । गृहनगर बूढीगंगामा बस्ने, मार्तडीसहितका क्षेत्रमा भेटघाट तथा साक्षात्कार गर्ने र कोल्टीसम्म पुग्ने भ्रमण तालिका बनाइएको उनको निजी सचिवालयले बताएको छ।