धनगढी। धनगढीस्थित फाप्ला क्रिकेट मैदानको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अवलोकन तथा निरीक्षण गरेका छन्।
रंगशाला निर्माणको थालनीकालागि मन्त्रालयले आवश्यक कागजी प्रक्रिया पूरा गरिरहेकोले आफू स्थलगत निरीक्षणमा आएको मन्त्री गहतराजले जानकारी दिए। सरकारले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण निर्माण गर्ने निर्णय केही दिनअघि गरेको थियो।
फाप्ला क्रिकेट मैदानको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री गहतराजले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माणको योजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउनकालागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए । उनले भने आगामी जेठसम्म कागजी प्रक्रिया पूरा हुन्छ,’ आगामी आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर टेण्डर गर्छौँ ।’ रंगशाला निर्माणका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।मन्त्री गहतराजले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा विकास समितिमार्फत रंगशाला निर्माण गरिने जानकारी दिए । ठूलो परियोजना एउटै सरकारले सम्पन्न गर्न गाह्रो हुने भएकाले तीनै तहको सरकार साझेदारी आवश्यक रहेको उनले बताए । बहुवर्षीय यो आयोजना पूरा गर्न तीनदेखि पाँचसम्म लाग्ने मन्त्री गहतराजको भनाइ छ ।
‘कार्यान्वयन हुनसक्ने आधारमा केन्द्र, प्रदेश र स्थानीय सरकारको साझेदारीको आधार तयार पार्ने र जनस्तरको पनि लगानी र संलग्नताको आधारमा अगाडि बढाउने तयारी छ ।’ उनले भने, ‘त्यसले आयोजना समयमा सम्पन्न गर्न सहज हुन्छ ।’ यो परियोजनाले नेपालको खेल पूर्वाधारको क्षेत्रको विकासमा क्रान्ति ल्याउने उनले दावी गरे । यसले सुदूरपश्चिमको सामाजिक, आर्थिक पक्षमा आमुल परिवर्तन हुने मन्त्री गहतराजले बताए ।स्थानीयको चासो र लगाव भए आयोजना समयमै सम्पन्न गर्न सहज हुने भएकाले आयोजना निर्माणमा सहयोग गर्न उनले स्थानीयलाई आग्रह गरे । यस्तै आज धनगढीमा भएको क्यानको साधारण सभामा मन्त्री गहतराजले राजनीतिका कारण खेल क्षेत्र पनि विभाजित भएको र अगाडि बढ्न नसकेको बताए । राजनीतिका कारण खेल क्षेत्र पनि विभाजित भएको बताउँदै खेल क्षेत्रको विकास गर्न ठूलो चुनौती भएको बताए । मन्त्री गहतराजले खेलाडी उत्पादनको क्रम चलिरहेका कारण खेल क्षेत्रमा आशा गर्ने वातावरण कायम रहेपनि खेलाडीलाई खेलमा मात्र समर्पित भएर लाग्ने अवस्था सिर्जना मुख्य चुनौतीको विषय भएको बताउँदै यस्लाई सुघार गरेर जानुपर्ने बताएका छन् ।