बझाङ। जिल्ला अदालत बझाङले छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्ने ३ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले आइतबार छविसपाथिभेरा गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कठायत, २८ वर्षीय प्रकाश ऐडी, ३० वर्षीय केदारमान ऐडीलाई जन्मकैदको फैसला गरेको हो।तीनै जनालाई जन्मकैदसहित जनही २ लाख रूपैयाँ जरिवानासमेत तोकिएको छ। उक्त घटनामा संलग्न भनिएका छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष ३६ वर्षीय विकास ऐडी र सोही ठाउँका जयबहादुर रोकायाले सफाइ पाएर आइतबार कारागारबाट छुटेका छन्।
२०७७ माघ १३ गते छविसपाथिभेरा गाउँपालिकाको–३ मा रहेको बन्निचौर माविको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि छविसपाथिभेरा–३ को झरखेलामा खुँडा प्रहार गरी सिंहको हत्या गरिएको थियो। सिंहको हत्या आरोपमा ५ जनालाई २०७७ फागुन ११ गते मंगलबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो ।