धनगढी : नेपाली काग्रेंसमा चरम गुटबन्दी मौलाएको भन्दै संस्थापन इतर पक्षले पार्टी शुद्धीकरण प्रयास अभियान थालेको छ । केन्द्रीय नेता डाक्टर शेखर कोइरालाको भावनात्मक नेतृत्वमा रहेको इतर समुह सशक्त ढंगले अघि बढिरहेको नेताहरुले दावी गरेका छन् ।
पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, नेता वीरबहादुर हमाल, वर्तमान जिल्ला सचिवद्वय पूर्ण कुँवर र दीपकराज जोशी, रामचरण चौधरी, रामबहादुर कलेल लगायतका नेताहरुको अगुवाईमा झण्डै दुई महिनादेखि सुदृढिकरण अभियान जारी रहेको छ ।
काग्रेंस सभापति तथा प्रधानमन्त्री शेर बहादूर देउवाको गृह प्रदेश अर्थात देउवा पत्नी आरजु राणाको निर्वाचन क्षेत्र रहेको कैलालीमा काग्रेंसभित्र चरम गुटबन्दी भएको भन्दै संस्थापन इतर पक्षले सो अभियान थालेको हो । आगामी फागुन १३ गते हुने जिल्ला अधिवेशनमा इतरपक्षले आफ्नो टिम तयार गर्दै सो अभियान समेत थालेको छ ।
काग्रेंस सभापति तथा प्रधानमन्त्री शेर बहादूर देउवाको गृह प्रदेश अर्थात देउवा पत्नी आरजुको निर्वाचन क्षेत्र समेत रहेको कैलालीमै संस्थापन पक्ष बिरुद्ध इतर पक्ष निकै सक्रिय भएको छ । पार्टीमा मौलाएको गुटबन्दी र असहमत पक्षप्रतिको पुर्वाग्रही ब्यवहारका कारण पार्टी संगठन कमजोर बनेको इतर पक्षको दावी छ । २०७० सालमा सभापति देउवा आफै यो क्षेत्रबाट निर्वाचन लडेपनि उनले डडेल्धुरा रोज्दै धनगढीमा पुस्करनाथ ओझालाई उप निर्वाचनमा उठाएका थिए ।
निर्वाचनमा बिजयी हुँदै राज्यमन्त्री समेत भएका ओझालाई २०७४ सालको निर्वाचनमा देउवा पत्नी आरजुलाई हराएको आरोप लागेको थियो । सोही आरोपमा काग्रेंसले ओझालाई ५ बर्षका लागी कार्वाही गरेको छ । ओझा लगायत हाल इतर पक्षमा रहेका नेताहरुले आफुहरुप्रति पटक÷पटक अन्याय भएको भन्दै जिल्लाभरी बिभिन्न कार्यक्रम समेत घोषणा गरेका छन् ।
पार्टी संगठनमा विचार, सिद्धान्त, आस्था, इतिहास र राजनीतिक–सामाजिक सवालहरुमा गम्भीर बहस र छलफलको पाटो निकै कमजोर भएको सचिव पुर्ण कुँवरले बताए । नेतृत्व चयनका सन्दर्भमा पनि विचार र सिद्धान्तका साथै निष्ठा र अनुभवको साटो धन, बल, शक्ति र सत्ताको चरम दुरुपयोगको प्रवृत्ति हाबी भइरहेको कुँवरले बताए ।
संस्थापन इतर पक्षले पार्टी नेतृत्वमा आफूसंग असहमत पक्ष तथा नेताकार्यकर्ताहरुलाई पाखा लगाउने ढंगले कारबाहीको अस्त्र प्रयोग गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै उनले आफू नजिकका नेताकार्यकर्ताहरुको जस्तोसुकै गलत कार्यलाई ढाकछोप गर्ने र असहमत पक्षका नेताकार्यकर्ताहरुलाई अपमानमाथि अपमान गर्ने काम भइरहेको बताए ।
पार्टीको आन्तरिक निर्वाचनलाई लिएर कार्यकालभरी गुटबन्दी मात्रै हुँदा सही कार्यक्रता पछि पर्ने र नेताको चाकरी गर्ने मात्रै अगाडी बढ्दा सगंठन निकै कमजोर बनेको इतर पक्षको दावी छ । संस्थापन पक्षकै ४÷५ समुह बन्ने स्थिती बनिरहँदा इतर समुहले आफ्नो एक टिम बनाएर जिल्लाको अधिवेशनमा जाने बताएको छ । संख्यात्मक रुपले हेर्दा कैलालीमा कमजोर देखिएको इतर समुहले संस्थापन पक्षमै देखिएको किचलोका कारण इतर पक्ष बिजयी हुने दावी गरेको छ ।
“यो पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको विषय हो, हामी अलग्गै प्यानलसहित चुनाव लड्ने अथवा कुनै पक्षसंग समिकरण गर्ने भन्ने कुराको छिट्टै टुंगो लगाउँदैछौं” पुर्व सभापति गोबिन्द जोशीले भने – हाम्रो अभियान पार्टीको सुदृढिकरण हो, कुनै कुराको भागबण्डा होइन । संस्थापन पक्षकै कुनै टिमले सहकार्यको प्रस्ताव राखे त्यसलाई अस्वूकार नगर्ने इतर समुहको दावी छ । इतर पक्षले कार्वाहीमा परेका सबै नेता कार्यक्रताहरुको कार्वाही फुकुवा गर्नपनि माग गरेको छ ।