धनगढी। बझाङको साईपाल गाउँपालिकामा आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ।
गएको साता भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि आईतबार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो।
गाउँपालिका जाने मुल घोडेटो बाटोमा हिमपात भएपछि अबरुद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या भएको थियो। साईपाल गाउँपालिकाको वडा –३ को काडामा ६४ कट्टा, ५ न्युनामा ६८ कट्टा र ४ घुलीमा ६७ कट्टा गरी झण्डै ६५ क्यीन्टल चामल ढुवानी गरिएको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए।
अहिले साइपाल गाउँपालिकाका तीनवटा वडामा खाद्यान्न अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत अपर्झट रुपमा खाद्यान्न ढुवानी गरिएको र आगामी दिनमा समेत साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन योजना बनाएर गाउँपालिका लगायत सरोकारवालासँग समन्वय भैरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भिम थापाले बताए।
साईपाल गाउँपालिकामा अब बाटो नखोलुन्जेलसम्मका लागि खाद्यान्न अभाव टरेको उनको भनाइ छ। यसअघि साईपाल गाउँपालिकामा खच्चर तथा भेडामार्फत ढुवानी गर्दै आएको भएपनि साईपाल गाउँपालिकामा एक साता अघिसम्म खाद्यान्न ढुवानी हुन नसक्दा भोकमरी हुने चिन्ता बढेको थियो। सदरमुकाम चैनपुरबाट पैदल तीन दिन लाग्ने साइपाल गाउँपालिकामा प्रत्येक वर्ष खाद्यान्न अभाव हुने गर्दछ। त्यहाँका स्थानीयहरुको आम्दानीको स्रोत यार्सागुम्बा, भेडापालन भए पनि पछिल्लो समय वन विनासका कारण यार्सागुम्बा कम पाइने र भेडाका लागि चरिचरनको अभाव भएपछि व्यवसाय छोड्न थालेका छन्।